
चुनाव आउँछ। नारा गुञ्जिन्छन्। झण्डा फहरिन्छन्। भाषणमा सपना बाँडिन्छ। तर देश बदलिन्छ कि बदलिँदैन? त्यो निर्णय भोट हाल्ने दिन हुन्छ।
भोट कुनै उपहार होइन। यो प्रश्न हो। यो जिम्मेवारी हो। र यो भविष्यप्रतिको र आउदो पुस्ताप्रतिको अठोट हो।
भोट हाल्नुअघि, हरेक नागरिक संयम हुनु पर्ने छ। एकचोटी अहिलेका नयाँ भनिएका र पार्टी पुरानो भएर पनि नयाँ बनेर आए भन्नेहरुको हरेक गतिबिधि एक-एक गरि हेर्नु पर्ने छ बुझ्नु पर्ने छ। उनीहरुले के गरिरहेका छन समाजमा कसरी प्रस्तुत भैरहेका छन। जनता भोट र देश प्रति उत्तरदायी बन्ने प्रयत्न गरिरहदा नेताहरु जनता प्रति उत्तरदायी बन्ने प्रयत्न गरिरहेका छन या छैनन्। देश प्रति कति जिम्मेवार छन्। एकचोटी मनन गर्नु पर्ने छ । बुझ्नु पर्ने छ र आफैलाई प्रस्न सोध्नु पर्ने छ।
यो चुनावमा पार्टीहरूको सबैभन्दा गम्भीर कमजोरी के देखिएको छ भने – यसपटक चुनावमा पार्टीको झन्डा प्रयोग गर्नुको सट्टा नेपालको राष्ट्रिय झन्डाको दुरुपयोग गरिँदैछ।
त्यसैले भोट हाल्नुअघि तपाइँलाई भोट माग्न आउने नेतासंग यी प्रस्न सोध्ने सहस गर्नुस।
१. अर्थतन्त्र र रोजगारी
देशभक्ति नाराले पेट भरिँदैन। युवाको सपना रोजगारी बिना बाँच्दैन। भोट माग्न आउनेलाई सोध्नुस्
– कसले कसरी रोजगारी सिर्जना गर्छ?
– महँगी घटाउने ठोस योजना छ कि छैन?
– तपाईं कुनै व्यापार-व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने, त्यसलाई सहज बनाउने कस्ता कानुन र नीति ल्याइन्छ?
भोट हाल्नु अघि सोच्नुहोस – देशको अर्थतन्त्र र रोजगारीको लागि तपाइको पार्टीका योजना के हुन् कसरी ति योजना पुरा हुन्छन ?
२. सुशासन र भ्रष्टाचार
भ्रष्टाचार नगर्ने र सुशासन स्थापित गर्ने भन्ने सबैका साझा नारा हुन्। तर रोक्ने आँट न कोहीसंग छ न कसरि भ्रष्टाचार गर्न सकिन्छ योजना छ। त्यसैले भोट हाल्नु अगाडी सोध्नुहोस
– अघिल्लो जिम्मेवारीमा के गर्यो?
– आफन्त, कार्यकर्ता पैसा र शक्ति बीच कसलाई प्राथमिकता दियो?
– कानुन सबैका लागि बराबर बनायो कि शक्तिशालीका लागि मात्र?
भोट हाल्नु अघि सोच्नुहोस: सत्ता पाएपछि यो व्यक्ति शक्तिशाली बन्छ कि देश? पार्टी बदलिन्छ कि पार्टीका नेता भनिएकाहरु र उनीहरुका नातागोता?
३. शिक्षा, स्वास्थ्य र पूर्वाधार
विद्यालय, अस्पताल, पूर्वाधार राज्यका अनुहार हुन्। भोट माग्न आउनेलाई सोध्नुस :
– सरकारी विद्यालय सुधार्ने योजना छ?
– अस्पताल सेवा दिने ठाउँ बन्छन कि ब्यापार ?
– पूर्वाधार बन्छन कि केवल उद्घाटन हुन्छन ?
भोट हाल्नु अगाडी सोच्नुहोस – विद्यालय, अस्पताल, पूर्वाधार बनाउने योजना के छन् कसरी सम्भव छ भनेको कुरा पुरा गर्न।
४. सामाजिक न्याय र समावेशिता
देश केहीका लागि मात्र होइन। देश सबैका लागि हो। समाजमा महिला, दलित, जनजाति, अपांग, मजदुर, युवा सबैका आवाज सुनिनुपर्छ। त्यसैले सोध्नुहोस:
– नेतृत्वले समाज जोड्छ कि विभाजन गर्छ?
– डर बेचेर भोट लिन्छ कि सम्मान दिएर?
– यो राजनीति मानवताका लागि हो कि सत्ताका लागि?
५. नेतृत्वको गुण र दृष्टि
लोकप्रियता क्षणिक हुन्छ। दृष्टि दीर्घकालीन। त्यसैले सोध्नुहोस:
– कठिन निर्णय लिने साहस छ?
– गल्ती स्वीकार्ने इमानदारी छ?
– देश कहाँ लैजान्छ भन्ने स्पष्टता छ?
अन्त्यमा, भोट हाल्नु औपचारिकता होइन। यो समाज र देशलाई योगदान गर्न सकिने अवसर हो। गलत भोटको मूल्य महँगीले तिराउँछ, बेरोजगारीले तिराउँछ, र निराश भविष्यले तिराउँछ। त्यसैले भाषण होइन, योजना हेरौँ। नारा होइन, नतिजा खोजौँ। भावना होइन, विवेक प्रयोग गरौँ।
देश नेताले होइन, सचेत नागरिकले बनाउँछ।
“अबकी बार गगन सरकार।” वा “अबकी बार १०० पार।” वा “अबकी बार बालेन सरकार।” कुन नारा राम्रो? सबै नराम्रा आउनुहोस हाम्रो नारा राम्रो नारा लगाउ:
अबकी बार नारा होइन, उत्तर। जिम्मेवार भोट, जिम्मेवार सरकार !