
ओखलढुङ्गा बितेका तीन महिनादेखि डर र त्रासमा बाँचिरहेको छ। यो कथा ओखलढुङ्गाको मात्र होइन, नेपालका हरेक दुर्गम भेगको कथा हो।
तीन महिनामा तीन घर, पाँच जनाको हत्या। यो कुनै random crime होइन। यो योजनाबद्ध हत्या हो।
यस्ता घटना घट्नुका पछाडि कारण हुन्:
- अपराधी पत्ता लगाउन धेरै समय लाग्नु
- प्रहरी स्थानीय तहको पहुँचबाट टाढा हुनु
- स्थानीय सरकार “प्रशासन” मा सीमित हुनु, तर सुरक्षा सोचमा कमजोर हुनु
आज गाउँमा एउटा प्रश्न गहिरिँदै गएको छ – अबको नम्बर कसको हो?
म यी हत्याको घोर भर्त्सना गर्दै दोषीलाई छिटोभन्दा छिटो पत्ता लगाई कडा भन्दा कडा सजायको माग गर्दछु।
तर प्रश्न यतिमै सकिँदैन। एकपछि अर्को यस्ता श्रृंखलाबद्ध हत्या किन भइरहेका छन्?
आजको प्रमुख प्रश्न हो यो।
🔍 यसको जडमा चारवटा मुख्य कमजोरी छन्
पहिलो – हामीसंग यस्तो प्रणाली छैन जसले केहि कुराको पूर्व सूचना दिन्छ।
गाउमा कोही नयाँ आयो, शंकास्पद गतिविधि भयो भने कसैले नोट गर्दैन र स्थानीय प्रशासनलाई जानकारी दिनु आवश्यक ठानिँदैन।
दोस्रो – समुदाय र प्रहरीबीचको दूरी।
यो नेपालको पुरानो समस्या हो। आज पनि प्रहरी जनता सँग डराउँछन्, र जनता प्रहरी सँग। यसले विश्वास तोडेको छ।
तेस्रो – निष्क्रिय स्थानीय सरकार।
गाउँ–ठाउँमा कस्ता समस्या आउन सक्छन्, कस्ता घटना घट्न सक्छन् – त्यसको पूर्व–आकलन गर्न नसक्ने नेतृत्वको अभाव छ।
चौथो – हाम्रो दृष्टिकोण
अझै पनि विकास भनेको आँखाले देखिने बाटो – घाटो, मठ–मन्दिर मात्र हो भन्ने सोचबाट हामी बाहिर निस्कन सकेका छैनौँ।
❓ अब प्रश्न उठ्छ – समाधान के हुन सक्छ?
आउनुहोस्, समाधानतर्फ कुरा गरौँ।
1️⃣ स्थानीय सरकारले कसरी सोच्नुपर्छ?
आज नेपाली जनताको सबैभन्दा ठूलो शक्ति भनेकै स्थानीय सरकार हो।
“स्थानीय सरकारको पहिलो जिम्मेवारी भौतिक पूर्वाधार होइन, नागरिकको जीवन हो।”
स्थानीय सरकारले नागरिकको जीवनलाई प्रमुख जिम्मेवारी मानेर काम गर्नुपर्छ। विकास भनेको बाटो–घाटो, मठ–मन्दिर मात्र होइन। विकास भनेको हामीले हरेक दिन कति सुरक्षित महसुस गर्छौँ – त्यसको गुणस्तर बढ्नु हो भन्ने कुरालाई स्थापित गर्नु पर्छ।
2️⃣ प्रहरी केन्द्रीय होइन, स्थानीय हुनुपर्छ
“अपराधीलाई भन्दा सूचना दिने नागरिकलाई बढी सुरक्षा चाहिन्छ।”
यस्ता घटना नघटून भन्नका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको समुदाय र प्रहरीबीचको साझेदारी हो। प्रहरी जनताको दुश्मन होइन। प्रहरी र समाज एक–अर्काका परिपूरक हुन्।डरले होइन, सहयोग र योजनाबद्ध तरिकाले अगाडि बढ्नुपर्छ।
3️⃣ समाज (हामी) के गर्न सक्छौँ?
“समाज मौन बस्दा अपराधी बलियो हुन्छ।”
सुरक्षा कुनै एक निकायको जिम्मेवारी होइन। यो सामूहिक प्रणाली हो। CCTV भन्दा पहिला छिमेकीको आँखा र जिम्मेवारी काम गर्छ। गाउँको सुरक्षाको रक्षक हरेक गाउँबासी हो। गाउँमा के भइरहेको छ, कस्ता मानिसहरू गाउँमा प्रवेश गरिरहेका छन्, कसैले असामान्य गतिविधि गरिरहेको छ कि छैन – यसप्रति सचेत भएर समयमै सम्बन्धित निकायलाई जानकारी दिनु हाम्रो दायित्व हो।
4️⃣ कानुन र राजनीतिक भूमिका
“सांसदको टिकट पाउनुभयो, अब जिम्मेवारी पनि लिनुपर्छ।”
हामीले जिताएका प्रतिनिधिको प्रमुख दायित्व भनेको कानुन यस्तो बनाउनु हो, जसले हाम्रो जिउ–धनको सुरक्षा गरोस्। हामी सुरक्षित भयौँ भने भौतिक पूर्वाधार हामी आफैँ निर्माण गर्न सक्छौँ। त्यसैले गम्भीर प्रकृतिका अपराधमा अपराधीले पाउने सजाय कठोर भन्दा कठोर हुने गरी कानुन बनाउन सहयोग गर्नुपर्छ।
🏘️ अब कुरा गरौँ – नमूना समाजको
यी कुरा भन्न सजिलो छ, तर व्यवहारमा कसरी गर्ने?
आउनुहोस्, मैले एउटा नमूना समाज को कल्पना गरेको छु। काल्पनिक समाज यस्तो छ।
एउटा गाउँमा ५० घर छन्। ३० घर एउटै ठाउँमा छन्, २० घर एक – अर्काबाट अलि टाढा–टाढा छन्। ती २० घरमध्ये कतै पसल छन्, कतै अपरिचित मानिसको आवत–जावत हुन्छ। कतै बाटो छ जहाँ मानिसहरूको आवागमन भइरहन्छ।
वडा अध्यक्षको एउटा टीम छ। त्यो टीमको काम गाउँलाई कसरी सुरक्षित र व्यवस्थित बनाउने भन्ने हो। त्यो टीममा सम्बन्धित विषयका जानकार, अनुभवी व्यक्ति र अनुसन्धान गर्न सक्ने मानिसहरू हुन्छन्। जो स्थानीय तहमा उपलब्ध छन्।
उनीहरूको सल्लाहमा वडा अध्यक्षको टीमले गाउँमा योजना कार्यान्वयन गर्छ, स्रोत परिचालन गर्छ, प्रहरी र समाजसँग समन्वय गर्छ।
भर्खरै, वडा अध्यक्षको टीमले गाउँको सुरक्षाका लागि योजना बनेको छ र कार्यान्वयन गरेको छ।
👮 प्रहरीको भूमिका
गाउँको मुख्य प्रवेशद्वारमा प्रहरीको टोली बस्छ। नयाँ मानिसको आवत-जावतको निगरानी हुन्छ।
निश्चित समयपछि – जस्तै राति ८ बजेपछि – गाउँभित्र वा बाहिर जाने–आउनेको रेकर्ड राखिन्छ।
राति ८ बजेपछि प्रहरी टोली गाउँका घर–घर पुगेर स्थिति बुझ्छ, पसल बन्द गराउँछ।
कुनै गाउँको विशेष कार्यक्रममा प्रहरी प्रत्यक्ष उपस्थितिमा यस्ता कार्यक्रम रातिको १० बजे सम्म संचालन गर्न अनुमती छ। प्रशासन यति चुस्त हुन्छ कि आवश्यक परे १० मिनेटभित्र प्रहरीको उपस्थिति सुनिश्चित हुन्छ।
🏛️ स्थानीय सरकारको भूमिका
सार्वजनिक स्थानमा बत्ती जडान गरिएको छ। आवश्यक ठाउँमा CCTV राखिएको छ।
गाउँको सुरक्षाका लागि विशेष alarm ring हरेक घरमा जडान गरिएको छ। कसैले ring बजाए त्यसको सूचना सीधै प्रहरी प्रशासनमा पुग्छ।
स्थानीय सरकार, प्रहरी प्रशासन र स्थानीय बासिन्दाबीच हरेक तीन महिनामा बैठक हुन्छ।त्यहाँ उठेका विषय विस्तारमा छलफल गरेर कार्यान्वयन गरिन्छ। जनतासम्म सम्पूर्ण जानकारी पुर्याइन्छ।
🧑🤝🧑 गाउँबासीको भूमिका
स्थानीय सरकार र प्रहरी प्रशासनले गरेका निर्णय सबैले पालना गर्छन्।
नयाँ मानिस आयो भने, अनौठो गतिविधि देखियो भने समयमै जानकारी दिन्छन्।
घरभित्रै कुनै घरेलु हिंसा, शोषण, दमन भइरहेको छ भने पनि चुप बस्दैनन्। अपराधी श्रीमान–श्रीमती, आमा–बुबा, छोरा–छोरी जो भए पनि – अपराधलाई स्वीकार गर्नु हुँदैन भन्ने चेतना समाजभर फैलिएको छ।
अन्त्यमा,
डरले समाज टुक्रिन्छ। सहकार्यले समाज बाँच्छ। यदि स्थानीय सरकार जिम्मेवार बन्यो, प्रहरी समाजसँग नजिक आयो, र समाज चुप बस्न छोड्यो भने – नेपालका हरेक गाउँ निडर बन्न सक्छ।
स्थानीय सरकारको पहिलो जिम्मेवारी भौतिक पूर्वाधार होइन, नागरिकको जीवन हो भन्ने सोच्न थालेको दिन र जनताले विकास भने जन – जीवनको गुणस्तरमा हुने वृद्धि पनि हो भन्ने बुझेको दिन हरेक गाउ नमुना गाउ बन्न सक्छन।
यो सपना होइन। यो सम्भव योजना हो।