
चुनाव हुने दिन नजिकिँदै आइरहेको छ। हरेक पटकझैँ यसपटक पनि चुनावमा कसलाई भोट हाल्ने भन्ने विषयमा बहस सुरु भइसकेको छ। यसपालिको सबैभन्दा रोचक कुरा भनेको Gen-Z आन्दोलनपछि यति धेरै नयाँ राजनीतिक दल खुले— के त्यो सबै आवश्यक थियो? भन्ने प्रश्न उठ्नु हो। अर्को रोचक पक्ष भनेको विभिन्न नयाँ दलहरूबीच भइरहेको ध्रुवीकरण हो। यहीबीच, नेपालका लामो इतिहास भएका प्रमुख दुई दलबीच समेत चुनावी तालमेलको बहस सुरु भएको छ। Gen-Z आन्दोलनले सिर्जना गरेको राजनीतिक स्पेसले पुराना दलहरूलाई केही हदसम्म डर सृजना गर्नु नेपाली राजनीतिका लागि शुभ संकेत नै हो, किनकि यसले उनीहरूलाई आत्मसमीक्षा गर्न र सच्चिन दबाब सिर्जना गर्छ।
यसबीच राजनीतिक दलहरू र राजनीतिक महत्वाकांक्षा बोकेका व्यक्तिहरू आ–आफ्नो स्थानबाट सक्रिय हुनु स्वाभाविक हो, र त्यसलाई नेपाली जनताले पनि स्वाभाविक रूपमा लिनुपर्छ। तर त्योभन्दा झन् महत्वपूर्ण कुरा के हो भने – जनता उनीहरूभन्दा चलाख हुनुपर्छ।
तर कसरी?
जनता उहि, नेता उहि, तर देश बदलिनुपर्छ – यो कसरी सम्भव छ?
नेपालको राजनीतिक इतिहास हेर्दा हामीले पटक–पटक एउटै प्रश्न सोधिरहेका छौँ – “अब त देश बदलिनुपर्छ।”
आजको दिनमा यसको सबैभन्दा सोझो र सरल उत्तर छ – भोट बदलेर।
तर “अब त देश बदलिनुपर्छ” भन्दै गर्दा, के हामीले साँच्चिकै भोट दिने तरिका र सोच बदल्यौँ? २००७ सालदेखि २०८२ सम्म आइपुग्दा हामीले के–केका लागि भोट गरेका छौँ? यदि यो कुरा स्पष्ट रूपमा बुझ्न सक्यौँ भने, यसपटक भोट परिवर्तन गर्न सजिलो हुनेछ।
२००७ सालको क्रान्ति राणा शासनको अन्त्य र नागरिक स्वतन्त्रताका लागि थियो, जहाँ जनताले शासनमा सहभागिता, बोल्ने अधिकार, पढ्ने अधिकार र राज्य जनताकै लागि हो भन्ने अनुभूति चाहेका थिए। यो परिवर्तन चुनावमार्फत होइन, क्रान्तिमार्फत प्राप्त भयो, तर २०१७ सालमा त्यो अधिकार फेरि खोसियो। २०१७ सालमा खोसिएको राजनीतिक अधिकार फिर्ता पाउने अवसर २०३७ सालको जनमत संग्रहमा आयो, जहाँ जनताले पञ्चायत र बहुदलमध्ये एक छान्नुपर्ने अवस्था आयो। तर डर, दबाब र भ्रमका कारण परिवर्तन अधुरो रह्यो, र यही अधुरोपनले २०४६ सालको आन्दोलनको बीउ रोप्यो। २०४६ सालमा जनताले बहुदलीय प्रजातन्त्र रोजे, जसले निरंकुशताको अन्त्य गर्यो र जनताको राजनीतिक अधिकार सुनिश्चित गर्यो, तर अधिकार त प्राप्त भयो, त्यसको सही उपयोग भने अपेक्षित रूपमा हुन सकेन। २०५१ र २०५६ का निर्वाचनमा जनताको अपेक्षा आर्थिक विकास, रोजगारी र सुशासन थियो, तर सरकारहरू अस्थिर बने र दलहरू सत्ता संघर्षमै अल्झिए। यसै अस्थिरताको निरन्तरतामा २०५९ साल आयो, जसले राजतन्त्रविरुद्धको असन्तोषलाई झन् गहिरो बनायो। २०४६ पछि २०६४ सम्म आइपुग्दा दलहरू निरन्तर सत्ता संघर्षमै अल्झिए, जसको परिणामस्वरूप १० वर्षे सशस्त्र संघर्षबाट माओवादी आन्दोलन उदायो। नेपाली जनताले ठूलो आशाका साथ उनीहरूको मुद्दालाई साथ दिए, जसको परिणामस्वरूप २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य भयो र संविधानसभाको निर्माण सुरु भयो। २०६४ सालको निर्वाचन परिवर्तनको चरम बिन्दु थियो, जसले नयाँ संविधान, समावेशी राज्य र समान अधिकारका विषयलाई संविधानमै स्थापित गर्यो, तर दुर्भाग्यवश ती कुरा व्यवहारमा पूर्ण रूपमा लागू हुन सकेनन्।
यसको परिणामस्वरूप २०६४ पछिका चुनावहरू – २०७०, २०७४ र २०७९ हामीले अवसरको खोजीमै गुमायौँ। न देशले अपेक्षित गति लियो, न जनताले सोचेको परिवर्तन आयो। बरु – भ्रष्टाचार संस्थागत बन्यो, राजनीतिक दल जनताप्रति गैरजिम्मेवार बने, जनता नागरिकभन्दा बढी दलका दास बनाइए।
देशको अवस्थाको जिम्मेवारी कसको?
नेता दोषी छन्— यसमा कुनै शंका छैन। हो, नेता दोषी छन्।
तर के जनता निर्दोष छन्? – होइन। हामी पनि दोषी छौँ – हामीले पार्टी मात्र हेरेर भोट दियौँ। व्यक्ति र काम होइन, झण्डा हेर्यौँ। गलतलाई पटक–पटक मौका दियौँ। यस अर्थमा, देशको अवस्थाको ठूलो जिम्मेवारी हामी सबै नेपाली हौ । अबका चुनावहरूमा यी गल्तीहरू सच्याउनु अपरिहार्य छ – र त्यसको सबैभन्दा प्रभावकारी उपाय हो, भोट परिवर्तन । तर यहाँ एक महत्वपूर्ण प्रश्न उठ्छ – भोट परिवर्तन भनेको के पार्टी फेर्नु मात्र हो? उत्तर स्पष्ट छ – होइन। भोट परिवर्तन भनेको:
– सोच परिवर्तन हो,
– प्राथमिकता परिवर्तन हो,
– र गलतलाई अस्वीकार गर्ने साहस हो।
नयाँ नतिजाको अपेक्षा गर्दै पुरानै गल्ती दोहोर्याउनु मूर्खता हो । २०६४ पछिका तीनवटा निर्वाचन – २०७०, २०७४ र २०७९ – जसरी हामीले खेर फाल्यौँ, यदि आउँदा दिनहरू पनि त्यसरी नै खेर नफाल्ने हो भने, यस चुनावमा भोट परिवर्तन गर्ने साहस गर्नैपर्छ।
के आजको नेपाली समाज भोट परिवर्तन गर्न योग्य छ?
यो प्रश्न उठ्नु स्वाभाविक हो। तर यति धेरै राजनीतिक परिवर्तन पार गरिसकेको नेपाली समाज
भोट परिवर्तन गर्न सक्षम छैन भन्नु जनताको अवमूल्यन हो। हो— नेपाली समाज भोट परिवर्तन गर्न सक्षम छ।
तर सबै नेपाली नागरिक यसका लागि एकैपटक तयार नहुन सक्छन्। त्यसैले यो जिम्मेवारी विशेषगरी शिक्षित र सचेत युवाको काँधमा आउँछ। देश बनाउने हुटहुटी भएका युवाले आजकै दिनदेखि राजनीतिक दल र उम्मेदवारलाई प्रश्न गर्न थाल्नुपर्छ, सामाजिक सञ्जाल जिम्मेवार रूपमा प्रयोग गर्नुपर्छ, र परिवारभित्रै राजनीतिक बहस सुरु गर्नुपर्छ।
समाजका शिक्षित वर्गले भोट परिवर्तन यसरी सम्भव बनाउन सक्छन्:
- व्यक्ति र कामको आधारमा मूल्यांकन गर्ने: चुनावमा उठ्दै गरेको व्यक्ति कस्तो छ? उसले कति काम गर्न सक्छ? उसले विगतमा समाजका लागि के योगदान गरेको छ? यी प्रश्नहरूको उत्तर खोजी गर्दै, त्यो जानकारी समाजमा अरूसम्म पुर्याउनु आवश्यक छ।
- घोषणापत्र होइन, विगतको काम हेर्ने: चुनावका बेला घोषणापत्र प्रायः आकर्षक हुन्छन्, तर चुनाव जितेपछि ती बिर्सिने इतिहास हामीसँग छ। त्यसैले घोषणापत्रभन्दा पनि उम्मेदवारको विगतको काम हेरेर भोट दिनुपर्छ, र ती कामहरू समाजका लागि कति उपयोगी थिए भन्ने कुरा साधारण जनतासम्म स्पष्ट रूपमा पुर्याउनुपर्छ।
- “कम खराब” होइन, “योग्य” खोज्ने: अहिलेसम्म हामीले “खराबमध्ये कम खराब” भन्ने मानसिकताबाट भोट दियौँ। अब यो प्रवृत्ति बदल्नैपर्छ। यदि योग्य उम्मेदवार छैन भने – राजनीतिक दलभित्र दबाब सिर्जना गर्नुपर्छ, वा दलभन्दा बाहिरबाट योग्य उम्मेदवार खडा गर्न पहल गर्नुपर्छ।
- पैसामा भोट किन्न खोज्नेहरूलाई खबरदारी गर्ने: शिक्षित र सचेत वर्ग चुनावको समयमा भए पनि कुनै न कुनै रूपमा संगठित हुनुपर्छ। पैसामा भोट किन्न खोज्ने, अनैतिक गतिविधिमा संलग्न हुने कुनै पनि प्रयासको विरुद्ध खुला रूपमा उभिनुपर्छ।
- प्रश्न गर्न सिकाउनु पर्छ: समाजमा केही समूह छन् जो भोट परिवर्तन गर्न चाहँदैनन्, जस्तै – अन्धभक्त, जसका लागि पार्टी धर्म हो, र जो लाभ र पहुँचकै आधारमा निर्णय गर्छन्। यस्ता मानिसमा परिवर्तन ल्याउनुभन्दा अगाडि, प्रश्न गर्न सिकाउनु अनिवार्य छ।
भोट परिवर्तनअघि ध्यान दिनुपर्ने कुरा
- उम्मेदवारको इमानदारी
- सार्वजनिक जीवनको इतिहास
- जनताप्रति उत्तरदायित्व
- भ्रष्टाचारमा संलग्नता
अन्त्यमा, समाज परिवर्तन गर्ने हुटहुटी भएका र जो देशमा परिवर्तनको सङ्कल्प गर्न चाहन्छन्, उनीहरूप्रति मेरो अनुरोध छ – गुनासो मात्र होइन, छलफल सुरु गरौँ। सामाजिक सञ्जालमा सचेत बहसको सुरुवात गरौँ। पुरानो दल सही हुँदा पनि गाली गर्ने र नयाँ दलले गलत गर्दा पनि ताली बजाउने प्रवृत्तिबाट बाहिर निस्कौँ।
गलतलाई खुला रूपमा अस्वीकार गर्ने र सहीलाई समर्थन गर्ने साहस गरौँ।
अब प्रश्न केवल “भोट परिवर्तन गर्ने कि नगर्ने?” मात्र होइन। प्रश्न यो हो – के हामी सचेत नागरिक बन्न तयार छौँ? यदि तयार छौँ भने, अब भोट पुनर्विचार गर्ने समय आएको छ। परिवर्तन बन्दुकको नालबाट होइन, ब्यालेटको माध्यमबाट गर्ने बेला आएको छ। तपाईं र म मिलेर “म” बाट “हामी” बन्ने बेला आएको छ। यो परिवर्तन हामी भएर मात्र सम्भव छ। आजबाटै सुरु गरौँ – देश परिवर्तनका लागि योग्य मान्छे खोज्न, जीवनस्तर परिवर्तन होस् भन्ने चाहना राख्ने तर त्यसबारे थाहा नपाएकाहरूलाई सिकाउन, र “नेता जे गरे पनि ठीकै हो” भन्ने सोचलाई चुनौती दिँदै जनतालाई प्रश्न गर्न सिकाउन!
गहन लेख!!!!